प्रस पथलैया, ५ साउनर
बारा, सिमरास्थित रामवनका स्थानीयले आइतवार राति काठ तस्करी गरिरहेको अवस्थामा प्रहरीलाई नियन्त्रणमा लिएका छन् ।
डाँकाजनीको घटना बढ्न थालेपछि राति सामूहिक गस्तीमा बसेका स्थानीयले काठ तस्करी गरिरहेको अवस्थामा छजना प्रहरीसहित टयाक्टर र प्रहरीको भ्यान नियन्त्रणमा लिएका हुन् ।
पर्सा, चोर्नी गाविसबाट सिमरातर्फ ल्याउँदै गरेको अवस्थामा स्थानीयले राति करिब २ बजे ना २त ३८५० नम्बरको टयाक्टरमा लोड ३५।६८ क्युफिट ३१ थान चिरान काठसहित प्रहरीलाई समातेका हुन् । स्थानीयले टयाक्टरसँगै इलाका प्रहरी कार्यालय, सिमराको ना १झ१३३२ नम्बरको प्रहरी भ्यान नियन्त्रणमा लिएका थिए। 

सुरक्षाका लागि राति गस्ती गरिरहेको बेला मध्यरातमा प्रहरीको भ्यान र टयाक्टर पर्सा जिल्लातर्फ जाँदै गरेको देखेपछि शड्ढा लागेको र उनीहरू फर्कंदा चेकजाँच गरेको स्थानीय कुबेर न्यौपानेले बताए । राति करिब १२ बजे पर्सा जिल्लातर्फ गएको टयाक्टर र भ्यान दुई घण्टापछि गाउँको बाटो हुँदै फर्केको थियो । फर्कने क्रममा समूहमा लुकेर बसेका स्थानीयले बाटो घेरा हालेर नियन्त्रणमा लिएका हुन् ।
स्थानीयबाट समातिनेमा इलाका प्रहरी कार्यालय, सिमराका प्रहरी सहायक निरीक्षक सगिर अहमद, धर्मेन्द्र गिरीसहित प्रहरी जवान चेतबहादुर थापा, सन्दिप कोइराला, आकाश गुरुङ र भीम रोकाया छन् । प्रहरी सहायक निरीक्षक गिरी टयाक्टर चलाउँदै गरेको अवस्थामा र अर्का प्रहरी सहायक निरीक्षक अहमद नेतृत्वको टोली भ्यानमा सुरक्षा दिंदै गरेको अवस्थामा समातिएका स्थानीयले बताएका छन् ।
मध्यरातमा पक्राउ परेका प्रहरीलाई रातभर नियन्त्रणमा राख्दै स्थानीयले सोमवार बिहान पर्सा वन्यजन्तु आरक्षको जिम्मा लगाएका छन् । आरक्ष अन्तर्गतको मुसर्नीमाई सामुदायिक वन क्षेत्रभित्र समातिएकाले कारबाईका लागि काठसहित टयाक्टर र प्रहरीलाई आरक्षमा बुझाएका हुन् ।
समातिएका प्रहरीको बयानका आधारमा तस्करीको गिरोहमा संलग्न अन्यलाई समेत पक्राउ गर्न सकिने भन्दै स्थानियले गहिरिएर अनुसन्धान गर्न माग गरेका छन् ।
आरक्षका निमित्त संरक्षण अधिकृत मन्जुर अहमदले घटनाको अनुसन्धान गरी कारबाई थालिने बताए । उनले दोषी पाइएमा प्रहरीलाई आरक्ष ऐन अनुसार कारबाई गरिने बताए । जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले समातिएका सबै प्रहरी दोषी भए कारबाई गर्न सहयोग गर्ने बताएका छन् । उनले घटनाको अनुसन्धान शुरु गरेको बताए ।