प्रस, सेढवा, १९ साउनर
साउन महिनाको अन्तिम सोमवार आज पर्साको ग्रामीण क्षेत्रका शिवमन्दिरहरूमा भक्तजनको ठूलो भीड लागेको थियो।
पर्सा वन्यजन्तु आरक्षभित्र पर्ने दुग्धेश्वर महादेव मन्दिर भाथामा ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनले पूजा आराधना गरेका छन्।
साउन महिनाभरि लाग्ने भाथाको साउने मेलामा बारा, पर्सा, रौतहट, मकवानपुर, चितवनलगायत भारतको बिहार, युपी राज्यका श्रद्धालु भक्तजनको सहभागिता थियो।
यस वर्ष विगतभन्दा भक्तजनको सङ्ख्या वृद्धि भएको दुग्धेश्वर महादेव मन्दिर निर्माण समितिका अध्यक्ष राजेश्वर महतो थारूले बताए।
आज अन्य सोमवारभन्दा भक्तजनको चाप बढी हुने भएकोको शान्ति सुरक्षाको लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीका साथै स्वयंसेवकहरू परिचालित थिए। त्यसैगरी सेढवा र महादेवपट्टी गाविसको दोसाँधमा पर्ने जिराभवानी मन्दिर परिसरस्थित बाबा बटेश्वरनाथको मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको थियो । भक्तजनले नारायणी नदी, वाग्मती, बिहारको सुल्तानगंज, पश्चिम बङगालको गङगासागर साथै उत्तर प्रदेशको सरयु नदीहरूबाट जल भरेर ल्याई चढाएका थिए।
प्रस, जीतपुरर
बाराको सहजनाथ महादेव मन्दिरमा सोमवार शिवभक्तहरूको घुइँचो लागेको छ। साउने मेला भर्न आएका श्रद्धालुहरूको यो महिनामा अहिलेसम्मको सबैभन्दा बढी उपस्थिति भएको मेला समितिका उपाध्यक्ष गङगा चौधरीले बताए ।
बिहान ५ बजेदेखि श्रद्धालु भक्तजनको भीड बढेको थियो। सबैले भगवान् शिवले मनोकामना पूरा गर्ने आस्थाका साथ सो धार्मिकस्थलमा पुगेका थिए। करैया गाविस–८ मा पर्ने सो मन्दिरमा नेपाल र भारतका करिब डेढ लाख श्रद्धालुले दर्शन तथा पूजाअर्चना गरेको अनुमान गरिएको छ।
तिथिले साउनको अन्तिम सोमवार परेको हुनाले पनि धेरै श्रद्धालु आएको बुझिएको छ। मेलामा भारतको मोतिहारी, मुज्जफरपुर आसपास, नेपालको पर्सा, बारा, रौतहट, मकवानपुर, सर्लाही, धनुषालगायत जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
करिब २ सय वर्ष पहिलेदेखि सो शिव मन्दिरमा मेला लाग्दै आएको स्थानीय ७२ वर्षीय बन्धु चौधरीले बताए । गतेले साउन महिनाभरि चल्ने मेलामा मौत का कुवा, झुलुवा र सदाव्रतको व्यवस्था मिलाइएको छ। यो मेलामा मोटरसाइकलबाट उल्लेख्य सङ्ख्यामा भक्तजन आउने गरेको पाइन्छ।
